सेनाले भन्यो-लेबननमा तैनाथ नेपाली सैनिक सुरक्षित

काठमाडौं।लेबननमा कार्यरत नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनन (युनिफिल)का लागि खटिएका नेपाली सैनिकहरू मंगलबार दिउँसोसम्म सुरक्षित छन्।

‘घटनाक्रमहरू विकसित भइरहेका छन्। हाम्रो फौज सुरक्षित नै छ। फौज बंकरमा छन्, उनले भने।

दक्षिणी लेबननस्थित ब्लु लाइन’ भनिने सीमा क्षेत्रमा नेपाली सेनासहित ३४ राष्ट्रका शान्ति सैनिकहरू खटिएका हुन्छन्।

यो ठाउँ लेबनन र इसराइलको सीमा क्षेत्र हो भने नेपाली सेना पनि नजिकै रहेको उनले बताए।

अहिले यो मिसनमा ८७७ जना सैनिकहरू तैनाथ छन्।

आइतबार इसराइली सेनाले युएनआईएफआइएलमाथि आक्रमण गरेको थियो। आक्रमणबाट १५ जना शान्ति सैनिकहरू घाइते समेत भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचार जारी रहेको मिसनले सामाजिक

सञ्जाल एक्स मार्फत जानकारी दिएको थियो। यो घटना बाहिरिएपछि ३४ राष्ट्रले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो।

यस द्वन्द्धमा सामेल रहेका सबै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ।

‘यस्ता गतिविधि यथासिघ्र रोकिनुपर्छ र अनुसन्धान गरिनुपर्छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

नेपालसँगै अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल-साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, काजकिस्तान, कोरिया, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनियाले निन्दा गरेको हो।

यी सबै राष्ट्रबाट शान्ति सैनिक खटिएका छन्।

विज्ञप्तिमा सबै राष्ट्रले दक्षिणी लेबनन र मिडल इस्टमा स्थिरता र शान्ति ल्याउनु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबननमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गरेका थिए।

युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ।