बडिमालिका पुग्दा आफूलाई स्वर्गमा आएको महसुस भयो: राष्ट्रपति पौडेल

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा देख्दा आफूलाई स्वर्गमा आएको महसुस भएको बताएका छन् ।

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको हामीले सुन्दै आएका बताउँदै आज आफूले यस पुण्य भूमिमा उभिएर सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गरेको बताए ।

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठुलो तीर्थस्थलमा आएको महसुस भएको बताए ।

उनले भने, जब मैले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा देखे मलाई म स्वर्गमा आएको महसुस भएको छ, मैले जीवनको सबैभन्दा ठुलो तीर्थस्थलमा आएको महसुस गरेको छु,नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु,मलाई बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौँ भन्ने तपाईंहरुलाई लाग्ला, अब तपाईंहरुले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुनेछ ।