पहिलो टी-२० खेलमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी-२० खेलमा नेपाल विजयी भएको छ। अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले १७ रनको जित निकालेको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन जोड्यो।

अमेरिकाका लागि शयन जहनगिरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले नटआउट ६० रन बनाउँदा ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

अमेरिकाका कप्तान तथा ओपनर मोनाक पटेल तेस्रो ओभरको पहिलो बलमा ३ रनमा आउट भएका थिए। उनलाई रिजन ढकालले बोल्ड गरे।

अघिल्लो ओभरमा अर्का ओपनर मुक्कामाला २ रनमा करण केसीको बलमा रोहित पौडेलबाट क्याच हुँदा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो।

त्यसपछि आन्द्रेस गसले २५ बलमा ३० रन जोडे भने आरोन जोन्स ३ रन र मिलिन्ड कुमार २२ रनमा आउट भए। हर्मित सिंह शून्यमा एलबिडब्लूको धरापमा पारे।

नेपालका दीपेन्द्रसिंह ऐरीले १६ ओभरको पहिलो र दोस्रो बलमा मिलिन्ड र हर्मितलाई आउट गरेका थिए। जससँगै खेलमा नेपाल हाबी भएको थियो।

१९औं ओभरमा सोमपाल कामीले १८ रन खर्चिदा अमेरिकालाई अन्तिम ओभरमा ३१ रन चाहिएको थियो। जसमा दीपेन्द्रले १३ रन खर्चिए।

बलिङमा दीपेन्द्रले ३ ओभरमा २७ रन खर्चिदा ३ विकेट लिए। रिजन ढकाल, करण केसी र गुलसन झाले १/१ विकेट लिए।

त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा १६४ रन बनायो।

नेपालका लागि रोहित पौडेलले ४९ रन जोडे। इनिङ्ग्सको अन्तिम बलमा रन आउट हुनुअघि रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए।

त्यसअघि ओपनरद्वय अनिल साह र आसिफ शेख २७/२७ रन जोडेर आउट भएका थिए। कुशल भुर्तेलले १० रन मात्र जोड्न सक्दा गुलसन झा ११ रनमा आउट भए।

दिपेन्द्र सिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे। करण केसी र आरिफ शेख शून्यमा आउट भए भने सोमपाल कामीले दुई रन मात्र जोडे।

नेपालले अन्तिम दुई ओभरको अन्तिम आठ बलमा पाँच विकेट गुमाएको थियो। जसका कारण नेपालले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो।

बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्कर, जसदीप सिंह र हर्मित सिंहले दुई दुई विकेट लिए। दुई देशबीचको दोस्रो खेल नेपाली समयअनुसार आइतबार बिहान हुँदैछ।