मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने बुझिएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयक सदनबाट पारित भइ राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसकेको छ । तर, लामो समयदेखि दुवै आयोग पदाधिकारी विहीन रहेका छन् ।

यसअघि नै सर्वोच्च अदालतले १ महिनाभित्रमा दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न आदेश दिएपनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन सकेन ।

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले २०८० चैत ३० मा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो ।

समितिमा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिका साथै जगदीश शर्मा पौडेल, अर्जुनकुमार कार्की र स्टेला तामाङलाई सदस्य बनाइएको थियो ।

तर पहिले संसदमा विचाराधीन विधेयक पारित गर्नुपर्ने सर्त राखेर मानवअधिकार आयोगले प्रतिनिधित्व नगराएका कारण समितिले सिफारिस प्रक्रिया नै अघि बढाएन ।

सरकारले राजनीतिक सहमतिको आधारमा आयोगमा पदाधिकारी नियुक्त गर्ने तयारी थालेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेपाली कांग्रेसले र वेपत्ता पारिएका व्यक्तिको छानबिन गर्नगठित आयोगमा नेकपा एमालेले अध्यक्ष पाउने र केही सदस्य प्रतिपक्षी दल माओवादी केन्द्रलाई दिने सरकारको तयारी छ।