बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा एक महिला पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको मनोहराबाट एक महिलालाई पक्राउ गरेको छ। बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई पक्राउ गरेको हो।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकी थिइन्। तर बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गोतामेले बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ । उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो।