पुडासैनी र ड्राइभर आत्महत्या प्रकरणमा जोगिएका रविमाथि सहकारी ठगी प्रकरणमा कारबाही होला त ?
रूषा थापा
२०७९ मंसिर ४ गते सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोमा विजयी भए। निर्वाचनमा २१ सिटसहित चौथों दल भएको रास्वपा तत्कालिन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पुस ११ गते गृहमन्त्री बने ।
गृहमन्त्री भएको ३२ दिनमै उनको पद गुम्यो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका उनले गृहमन्त्री हुनुञ्जेलसम्म पनि पुनःनेपाली नागरिकता नलिएको र अमेरिकी नागरिक नै ठहरिएपछि सर्वोच्च अदालतले उनको उपप्रधान एंव गृहमन्त्री पदसहित सांसद र पार्टी सभापति पद पनि खारेज गरिदिएको थियो।
पद गुमेपछि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिए ।
लामिछानेको पद गुमेपश्चात् ०८० वैशाख १० गते सरकारले चितवन क्षेत्र नम्बर २ मा पुनः निर्वाचन गरायो ।
जनताले तिरेको कर फेरि खर्चियो । तैपनि, चितवनका जनताले उनलाई नै जिताए । त्यहाँका जनतालाई लागेको थियो कि लामिछानेले विपक्षमा बसेर हाम्रो कुरा उठाउँछन् । तर, उनी फेरि फागुल्न २३ गते प्रचण्ड नेतृत्वकै सरकारमा गृहमन्त्री बने।
अहिले लामिछानेलाई सहकारी ठगी प्रकरणमा सरकारले गिरफ्रतार गरेको छ । योसँगै चितवन क्षेत्र नम्बर २ मा फेरि चुनाव गराउनुपर्ने देखिएको छ । लामिछानेको सहकारी ठगीमा संलग्नता रहेको भनेर संसदीय छानबिन समितिको प्रतिवेदनमा स्पष्ट भनिएको छ । समितिले नै गरेको कारबाही सिफारिसका आधारमा उनी समातिएका हुन् ।
यद्यपि, उनी भने विभिन्न भ्रम फैलाइरहेका छन् । लामिछानेमाथि चितवनका जनताले विश्वास त गरे तर उनी कस्ता व्यक्ति हुन् भनेर केलाएनन् । न त सरकारले नै खोजतलास गर्यो ।
लामिछाने ०५८ सालमै नेपाल छोडेर अमेरिका पलायन भएका हुन् । ०६६ सालमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बने । घरायसी विवादका कारण उनी ०७१ सालमा भिजिट भिसामा नेपाल आए ।
उनी अमेरिका जानुअघि राजावादी थिए । मुलुकको राजनीतिक परिवर्तनमा लामिछानेको कुनै पनि योगदान रहेको पाइदैँन ।
नेपाल आएपछि उनले न्यूज २४ मा सिधा कुरा जनतासँग नामक कार्यक्रम चलाए । कार्यक्रममा राजनीतिक दलका नेताहरुलाई उनी उफ्रिउफ्रि गालीगलौज गर्थे ।
भ्रष्टाचारीलाई टुँडिखेलमा ल्याएर नाकको डाँडी भाँच्छु समेत भने ।
नेपाली जनता निकै सीधा छन् । आफुहरुको समस्या समाधान गरेर उनीहरु जुनसुकै व्यक्तिप्रति पनि विश्वास गर्छन् ।
लामिछानेको सन्दर्भमा पनि यही भएको हो । जनता राजनीतिक दलका नेताबाट वाक्क दिक्क भएका थिए । त्यही समयमा लामिछाने नेताहरुको विरोधमा खरो भएर उत्रिए । यो देखेर सर्वसाधारण उनीतर्फ आकर्षक बने ।
जनताले लामिछानेमाथि यति धेरै विश्वास गरे कि उनले आफ्नै सहयात्रीलाई आत्महत्या गर्न बाध्य बनाउँदा समेत उनकै पक्षमा उभिए ।
उनले आफुसँगै काम गर्ने पत्रकार शलिग्राम पुडासैनीलाई बाँच्न दिएनन् । पुडासैनीको घर नुवाकोट हो । काठमाडौंमा बस्दै आएका उनले चितवन पुगेर आत्महत्या गरे । मर्नुअघि उनले रेकर्ड गरेको भिडियो भनेका थिए, ‘मलाई रवि लामिछानेले बाँच्न दिएन । म उनैका कारण मर्न बाध्य बनेको छु।
विडम्बना, त्यतिबेला कसैले पनि उक्त भिडियोमाथि विश्वास गरेन । पुडासैनी त मरेर गए । तर, उनले भनेका एक एक कुरा अहिले पुष्टि हुदैँ गएका छन् । लामिछानेले दुई वटा नागरिकता र राहदानी रहेको उनले खुलासा गरेको भिडियोमाथि न सरकार न नागरिक न अदालतले तत्कालिन समयमा विश्वास गर्यो ।
जबकी सर्वोच्च अदालतले लामिछानेलाई सोही कसुरमा दोषी ठहराउँदै गृहमन्त्रीसहित सांसद र पार्टी सभापति पद खारेज गरिदियो ।
पुडासैनी गरिब परिवारका थिए । यसैले, उनको न्यायका निम्ति कोही लडेन । जबकी उनले प्रमाण सक्दो छोडेर गएका थिए । पुडासैनीको भिडियो प्रमाणलाई झुटो ठहराइयो ।
र, लामिछानेलाई सफाइ दिइयो । भनिन्छ कि मर्ने बेला मानिसले झुटो बोल्दैन । अनि किन पुडासैनीले आत्महत्या गर्नुअघि भनेको कुरालाई चाँहि झुटो भनियो ? किन समाजले उनीमाथि विश्वास गरेन ? किन अदालतले उनलाई न्याय दिएन ?
किन प्रहरी प्रशासनले सत्यताको साथ दिएन ? त्यतिबेला लामिछाने राजावादी रहेकाले उनी हिरासतमा रहँदा चितवनमा स्थानीय जनतासहित राजावादीहरुले ठुलो आन्दोलन गरे ।
एमाले अध्यक्ष केपीशर्मा ओलीसँग नजिक भएका उनी राजनीतिक पहुँचमा २४ दिनमै प्रहरी हिरासतबाट छुटे । जबकी उनलाई जेल पुर्याउने नै प्रमाण थियो । तर, त्यतिखेर प्रधानमन्त्री ओली रहेकाले उनकै निर्देशनमा छोडियो ।
लामिछानेकै कारण उनका ड्राइभर समेत मरे । पुडासैनी र ड्राइभर आत्महत्या प्रकरणमा उनी जोगिएपछि सहकारी ठगी प्रकरणमा पुनः पक्राउ परेका छन् । उनलाई रिहा गर्न माग गर्दै पोखरामा आन्दोलन भइरहेको छ । तर, त्यसमा जनता नभई उनका कार्यकर्ता मात्र छन् ।
नेपाली नागरिकता त्यागेर अमेरिकामा छोराछोरी बसिरहेका आमाबुबा मात्र उनका समर्थनमा सडकमा उत्रिएका छन् ।
जनता त सहकारीबाट पीडित भएका छन् । लामिछानेलाई थुन्नुपर्ने उनीहरुको माग छ । सहकारीले करोडौं सर्वसाधारणलाई पीडित बनाएको छ । उनीहरुलाई घर न घाटको अवस्थामा पुर्याएको छ ।
सहकारीले करोडौं जनताको खर्बौ रकम पचाइदियो । यही ठगीमा लामिछानेको पनि संलग्नता पुष्टि भइसकेको छ । अझै पनि उनी आफुलाई राजनीतिक प्रतिशोधमा समातिएको भन्दै जनतालाई झुक्याइरहेका छन् ।
तर, अब जनता उनको झुट्टा कुरामा आउने छैनन् । उनलाई जनताले कानूनको कठघरामा ल्याएरै छोड्ने छन् । हिजो पत्रकार पुडासैनी एक्लो थिए ।
उनका घरपरिवार कमजोर भएकै कारण उनी उम्किए । यद्यपि, अहिले त लाखौं सर्वसाधारणको कुरा आएको छ । यदि उनी छुटे भने जनताले आन्दोलनको बाढी पहिरो ल्याउने छन् ।
यसैले, अब सरकारले पनि नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएर फेरि नेपाल फर्किएकामाथि निगरानी बढाउनुपर्छ । लामिछानेमाथि निगरानी नराखेकै कारण उनले गर्दा दुई जनाको ज्यान गयो ।
चितवनमा जनताले तिरेको कर खर्चिएर पटकपटक चुनाव गराउनु पर्ने भएको छ । यदि उनी नेपाल नफर्किएको भए न दुई निर्दोष व्यक्तिले ज्यान गुमाउनु पथ्र्यो न त सहकारीमा यत्रो सर्वसाधारणको रकम डुब्थ्यो ।
न त चितवनबासीले नै पटकपटक मतदान गर्नुपथ्र्यो । यसैले, लामिछानेको उदाहरण हामी सबैका लागि एउटा पाठ बनेको छ। यसलाई मध्यनजर गरेर सरकारले आवश्यक कदम चाल्नै पर्छ।
नभए यस्ता आफ्नो मातृभूमि त्यागेर विदेशी बनिसकेकाहरुले देश तहसनहस बनाउने छन् । यदि आफ्नो देशको माया छ भने उसले नेपाली नागरिकता कहिल्यै त्याग्दैन । रविलाई देशको माया छैन । आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो ।
तर, लामिछाने नेपाल बनाउन आएका हुन् भन्ने भ्रममा परेर जनताले उनीमाथि विश्वास गरे । यसैले, अब सरकार पनि सचेत हुनुपर्छ ।
नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेकाहरु फेरि नेपाल फर्किन्छन् भने त्यस्ता व्यक्तिमाथि सरकार र जनता दुवैले आँखा चिम्लेर विश्वास गर्नुहुन्न । रवि आफ्नै मातृभूमि र यहाँका जनता ठग्न खोजे । यद्यपि, उनी सफल भएनन् । ०७१ जेठमा अमेरिकाबाट आएका उनी हालसम्म दुई पटक प्रहरी नियन्त्रणमा पुगिसके ।
अनि यस्ता व्यक्तिमाथि अझै पनि जनताले विश्वास गरिरहने कि कानूनी कारबाही गर्न सडकमा उत्रिने ? अरुलाई परेको दुःख, आफुलाई पनि पर्न सक्छ भनेझैं हिजो पुडासैनीका अभिभावकलाई पर्दा जनताले साथ दिएनन् ।
तर, अहिले सर्वसाधारण आफैं लामिछानेबाट पीडित भएका छन् । यो त शुरुवात मात्र हो । यदि उनी छिट्टै कानूनी कठघरामा नगए अझैं कयौं व्यक्तिले ज्यान गुमाउनुपर्ने छ त कयौं ठगिने छ । त्यसैले, हामी जनता पनि लामिछानेको समर्थनमा उत्रिनुभन्दा पनि सत्यको पक्षमा रहौं ।