यो सरकार भ्रष्टाचारीको पक्षमा रहेको पुष्टि भएको छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई भेटेर सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताएका छन्।

बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उनले सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए ।

उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिए।

सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको उनले टिप्पणी गरे । सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।

अध्यक्ष प्रचण्डले उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा रहेको पुष्टि भएको बताए।