जग्गा दान खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । भाटभटेनीमा मालिक मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन दिएको जग्गादान प्रकरण सर्वोच्च अदालत पुगेको छ।

पदमा बसेर दानका रुपमा गरिएको यति ठूलो लेनदेन सरासर भ्रष्टाचार भएको भन्दै ज्ञानकुमार बस्नेतले उक्त जग्गादान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उक्त रिटमा सुनुवाइका लागि भोलि पेसी तोकिएको छ।

यसअघि सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न मानेको थिएन। अदालतले गरेको दरपीठ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गरिदिएको हो।

इजलासबाट उक्त रिट सार्वजनिक सरोकारको भएकाले दर्ता गर्न आदेश भएपछि अब यो विषय अदालती बहसको विषय बनेको छ।

भाटभटेनीका मालिक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर–२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दानमा दिएको घोषणा गरेका थिए।

त्यही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए।

अर्को वर्ष दसैँको घटस्थापनामा कार्यालय उद्घाटन समेत गर्न मिल्ने गरी भवनसमेत आफ्नै पैसाले बनाइदिने घोषणा गुरुङले गरेका छन्।

हालको प्रचलित बजार मूल्यअनुसार उक्त जग्गाको मोल ७० करोड हाराहारी हुन्छ।