सरकारविरुद्धको प्रदर्शनमा माओवादीले ३० हजार मानिस उतार्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्धको प्रदर्शनमा ३० हजार मानिस उतार्ने भएको छ । भोलि शनिबार काठमाडौंमा गर्न लागेको ‘खबरदारी सभा’ नाम दिइएको विरोध प्रदर्शनमा माअओवादीले ३० हजार मानिस उतार्ने भएको हो ।

प्रदर्शनमा सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ। प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादीको भनाइ छ। खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन्।

त्यसपछि जुलुस सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नारा लगाउने छन्।

सो जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ। सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।