मंसिर ५ गते फेरि आन्दोलन गर्ने सहकारी पीडितको घोषणा

काठमाडौं । सहकारी पीडितले आफुहरुको माग सम्बोधन नगरेको भन्दै फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन्।

सरकारले आफूहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले विज्ञप्तिमार्फत आन्दोलनको घोषणा गरेको हो।

सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएको भन्दै उनीहरु मंसिर ५ मा आन्दोलनमा उत्रिने भएका हुन् ।

‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ, अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्,त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो । हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो।

सहकारी पीडितले बुधबार डिपुटी गर्भनरसहित बसेको क्याबिनेट छलफलमा पनि आफूहरूको प्रतिनिधि नराखी सम्झौता गरेको आरोप लगाएका छन्।

उनीहरुले पटकपटक सम्पर्क गर्दा पनि सरकारी पक्ष सम्पर्कमा आउन नचाहेको बताएका छन्।