बाराबाट १४ किलो चाँदीसहित दुई जना पक्राउ

बारा । प्रहरीले १४ किलो अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो रहेको प्रहरीले जनाएको छ ।

सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको हो। पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई अमलेखगञ्जबाट पक्राउ गरेको हो । सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।