सरकारले सय दिनमा लक्ष्यअनुसारको काम गर्न सकेन: नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठुला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताए।

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता मात्रै रहेको उल्लेख गरे। सरकार ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे। कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।

कोइरालाले अहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको जिकिर गरे । सरकारका केहि क्रियाकलापले सरकार फरक ढङ्गले हिँड्न खोजेको हो कि भन्ने आभास भएको उनको भनाइ छ ।

त्यस्तै कांग्रेसका नेता मोहन बहादुर बस्नेतले यसअघिको कमीकमजोरीलाई सुधार गर्दै आगामी निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरे। चुनावी गठबन्धन भन्दा पनि रणनीतिक विषयमा पार्टीले ध्यान दिनुपर्ने उनले बताए।

उनले पार्टीभित्र अनुशासन कडाइका साथ लागू गर्नुपर्ने भन्दै पार्टीभित्र अनुशासन उलङ्घन गर्ने सवैमाथि कारबाही हुनुपर्ने उल्लेख गरे।