साफ वुमन्स च्याम्पियन्सिप: सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप–२०२४ को सेमिफाइनल खेल आज हुँदैछ । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र भारतबीच खेल हुँदैछ । यो खेल साँझ साढे ६ बजे सुरु हुनेछ । समूह चरणमा दोस्रो खेल साढे ५ बजे भएपनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारण सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।

सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारतबाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल, भुटान र बंगलादेश समूह चरणमा अपराजित छन् । अब सेमिफाइनल कुन टिमले जित्छ त्यो हेर्न बाँकी छ ।

नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान सेमिफाइनल पुगेको यो दोस्रोपटक हो । साविक विजेता बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

यस्तै, घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो भने भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपाल र भुटानले आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित छ । नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।

दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेशविरुद्ध निर्धारित ९० मिनेटसम्म अग्रता लिएपनि अतिरिक्त समयमा गोल खाएपछि खेल १–१ को बराबरीमा सकिएको थियो ।

बंगलादेशले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको थियो । त्यसपछि बंगलादेशले भारतलाई ३–१ ले पराजित गर्दै समूह ए को विजेता बनेको हो।