यु-१७ एसियन कप छनोट: नेपाल जितविहीन बन्यो

काठमाडौं । नेपाल एएफसी यु–१७ एसियन कपको समूह चरणको अन्तिम खेलमा मंगोलियासँग पराजित भएको छ। यससँगै नेपाल एएफसी यु–१७ एसियन कप छनोटमा जितविहीन बनेको छ।

छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १–० ले पराजित भयो। चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अंकविहीन भयो।

दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा मंगोलियाको ओक्हु सोहेलले ७८औं मिनेटमा निर्णायक गोल गरे । सुरुवाती दुवै खेल हारेका नेपाल र मंगोलियाको लागि यो खेल प्रतिष्ठाका लागि थियो।

जसमा मंगोलियाले बाजी मा¥यो। मंगोलियाले ३ अंक जोडेर छनोट यात्रा तय गरेको छ ।

समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० ले पराजित भएको थियो । मंगोलिया पहिलो खेलमा कतारसँग २–० ले तथा जापानसँग ७–० ले पराजित भएको थियो।

नेपालले छनोटमा तीन खेल खेल्दा सबै तीन खेलमा पराजित भएको हो । नेपालले १५ गोल खाँदा २ गोल मात्र गर्न सफल भयो ।

यु–१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ।

छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनोट हुनेछ ।

उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यु–१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ।