१०० नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ ।

बैंकले आइतबार एक सूचना जारी गर्दै नोटको डिजाइनसहित छपाइ र ढुवानीसहितको जिम्मेवारीका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ लाई ठेक्का दिइने जानकारी दिएको हो ।

राष्ट्र बैंकले चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५ सय ९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाइदेखि ढुवानीसम्म गरिदिने सूचनामा उल्लेख गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो। ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

१०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो।