दर्शन : मालेमावादको विकासको प्रश्न
- हस्तबहादुर केसी
” मार्क्सवाद संघर्षद्वारा मात्र विकसित हुन सक्छ , र यो कुरा विगत र वर्तमानका सन्दर्भमा मात्र नभई भविष्यका सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।”
– माओ त्सेतुङ , Selected Works Of Mao Tse Tung , Vol.v, p.409, Foreign Language Press 1977.
मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मार्गदर्शक सिध्दान्त हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
यस दार्शनिक आलेखमा मार्क्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक तथा दार्शनिक विकास कसरी हुँदै आएको छ भन्ने विषय संक्षेपमा प्रस्तुत गरिनेछ ।
मार्क्सवादको संक्षिप्त परिचय :
मार्क्सवादको प्रतिपादन कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र मार्फत् सन १८४८ मा गरिएको हो । यसलाई कम्युनिस्ट लिग मार्फत् सन १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट गरिएको हो ।
मार्क्स – एंगेल्स मार्क्सवादका प्रवर्तक हुनुहुन्छ । जर्मन शास्त्रीय दर्शन , बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको गहन अध्ययन – विश्लेषण र संश्लेषण पश्चात् विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त र पथप्रदर्शक सिध्दान्तका रुपमा मार्क्स – एंगेल्सद्वारा मार्क्सवाद र मार्क्सवादी दर्शनको अनुसन्धान गरिएको थियो ।
मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । मार्क्सवाद गतिशील सिध्दान्त हो । वर्गसंघर्ष र विचार संघर्षको बीचबाट मार्क्सवादकोो जन्म र विकास हुँदै आएको छ । आज मार्क्सवादले आफ्नो विकासको क्रममा मार्क्सवादी चरण , लेनिनवादी चरण र माओवादी चरणसम्म गुणात्मक रुपमा विकास भएको छ, मार्क्सवादका विकासका यी तीन गुणात्मक चरणबारे छोटो रुपमा विषय प्रस्तुत यसरी गरिएको छ :
मार्क्सवादको विकासको चरण :
मार्क्सवाद एक विज्ञान हो , अर्थात् मार्क्सवाद विश्व सर्वहारा क्रान्तिको विज्ञान हो । समाज विकासका क्रममा यसको पुँजीवादको प्रारम्भिक अवस्थामा जन्म र विकास भएको हो । मार्क्सवादको मुख्य उद्श्य् लक्ष्य के हो भन्ने कुरा नै महत्त्वपूर्ण विषय हो । यसको दार्शनिक , आर्थिक , राजनीतिक मान्यता को हो भन्ने विषय नै प्रमुख विषय हुन् ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता र लक्ष्य – उद्श्ये हुन् ।
लेनिनले मार्क्सवादबारे ” मार्क्सवाद भनेको मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो” भन्नुभएको छ । मार्क्सवादको निर्माण दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरुको संश्लेषणबाट भएको छ।
मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिध्दान्त भौतिकवाद हो । यसले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ ।यसले चेतनालाई वस्तजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । यो दर्शनको पध्दति द्वन्द्ववाद हो ।
फ्रेडरिक एंगेल्सले द्वन्द्ववादका तीन नियम अर्थात् विपरीतहरुको एकता र संघर्षको नियम , मात्रको गुण र गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको निषेधको नियमको उल्लेख गर्नुभएको छ ।
साथै कार्ल मार्क्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना , उत्पादन शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरि संरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभयो छ ।
मार्क्सको राजनीतिक अर्थशास्त्र श्रम मूल्यको सिध्दान्त र अतिरिक्त मूल्यको सिध्दान्तमा आधारित रहेको छ । मार्क्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।
लेनिनवादको विकासको चरण :
सन १८८३ मा प्लेखानोवको नेतृत्वमा गठन गरिएको मजदुर मुक्ति दलद रुसमा पहिलो मार्क्सवादी समुह थियो । प्लेखनोवकै नेतृत्वमा त्यसलाई विकास गरिएको थियो । त्यही नै रुसमा स्थापित कम्युनिस्ट पार्टी थियो र त्यसैलाई नै लेनिन ( १८७० – १९२४) ले नयाँ ढंगले विकसित गर्नुभएको थियो ।
मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । लेनिनवादको विकास कुन कारणले भयो भन्ने कुरा ज्यादै महत्त्वपूर्ण विषय हो । लेनिनको समयमा पुगेर पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति , सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका क्षेत्रमा थप खोज- आविष्कार हुँदै जानू र त्यसप्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सवादलाई नयाँ उँचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको थियो ।
त्यही परिस्थितिमा प्रकृति विज्ञानका क्षेत्रमा दुर्तगतिले प्रगति हुँदै गयो । इलेक्ट्रोनको क्षेत्रमा विसत खोज भयो , सापेक्षतावादको सिध्दान्त प्रकाशमा आयो । त्यो स्थितिमा कैयौं आदर्शवादी प्रकृति वैज्ञानिक र दार्शनिकहरुले पदार्थ लोप भयो भन्दै भौतिकवादमाथि प्रहार गर्न थाले ।
एकातिर यो स्थिति र अर्कोतिर साम्राज्यवादको जन्मको कारण मजदुर आन्दोलनमा अभिजातवर्गको प्रादूर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले मार्क्सवादको गंभीर तोडमरोड गर्न थाल्यो।
साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरुलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपुर्ति लेनिनबाट भएको थियो । लेनिनले आफ्नै नेतृत्वमा सन १९१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर मार्क्सवादको सफल प्रयोग गर्नुभई विश्वमै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नुभएको थियो ।
त्यसै प्रक्रियामा लेनिनले सन १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभएको थियो । र पार्टी संगठनका क्षेत्रमा जनवादी केन्द्रीयताको सिध्दान्त प्रतिपादन गर्गु भयो । यिनै समग्रतालाई लेनिनवाद भनिन्छ ।
लेनिनवादका बारेमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अर्का नेता स्टालिनले भन्नुभएको छ , ” लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो। अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिध्दान्त तथा कार्यनीति र विशेषत: सर्वहारा वर्गको अधिनायकत्वको सिध्दान्त र कार्यनीति हो ।
त्यस्तै लेनिनवादी सिध्दान्त , विश्वदृष्टिकोण र उहाँका शिक्षाकाबारेमा माओ त्सेतुङले भन्नुभएको छ ,लेनिनवादको सिध्दान्तले मार्क्सवादको विकास गरेको छ ।
यो कुन सन्दर्भमा भनिएको छ ? प्रथम , विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिको सिध्दान्त र कार्यनीतिमा विशेषत: वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरु रहेका छन् ।
लेनिनद्वारा प्रतिपादित लेनिनवादले मार्क्सवादको विकासमा थपेको उँचाइबारे स्टालिन र माओ त्सेतुङका भनाइहरुले सटिक र सूत्रबधद रुपमा राम्रो प्रकाश पारेका छन् । लेनिनले मार्क्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उँचाई थप्नु भएको छ त्यसका मूल विशेषताहरु यसप्रकार रहेका छन् :
(१) पदार्थको लोप भयो भन्ने आदर्शवादी प्रकृति वैज्ञानिक तथा दार्शनिकहरु र संशोधनवादीहरुका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादको दार्शनिक मौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नु भएको छ। लेनिनको यो योगदान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अतुलनीय रहेको छ।
(२) महान् लेनिनले द्वन्द्ववादी पध्दतिको व्याख्या , विश्लेषण र परिमार्जन गरि त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुभएको छ । लेनिनले भँडुवा विकासवादका विरुद्ध संघर्ष गरि द्वन्द्ववादको विपरीतहरुको एकता र गुणात्मक छलाङको सिध्दान्तमा नयाँ आयाम थप्नु भएको छ ।
(३) लेनिनले द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिध्दान्तमा प्रतिबिम्बनको सिध्दान्त , ज्ञानको वक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ नयाँ कुराहरुको उजागर गर्नुभएको छ
(४) लेनिनले ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अवमूल्यन गर्ने आत्मपरतावाद , चेतनाको भूमिकालाई नकार्ने संवत:स्फूर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिध्दान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियो ।
साम्राज्यवादको सारतत्वलाई एकाधिकार पुँजीवादका रुपमा आौंल्याउँदै सर्वहारा क्रान्तिको सिध्दान्तलाई विकसित गर्ने , सर्वहारा अधिनायकत्वको सिध्दान्तलाई परिमार्जन गर्ने , साम्राज्यवादको युगमा युध्दको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रुपमा सैध्दान्तिकरण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।
(५) मार्क्सवादी – लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासंग गाँस्ने , वर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरुको समाधान गर्दै
वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।
के गर्ने ? भौतिकवाद: अनुभवसिध्द आलोचना,सोह्र बुँदे दार्शनिक नोट,एक पाइला अगाडि दुई पाइला पछाडि , राज्य र क्रान्ति ,साम्राज्यवाद पुँजीवादको उच्चतम चरण , वामपन्थी साम्यवाद : एक बालरोग,मार्क्सवाद र संशोधनवाद जस्ता दार्शनिक तथा सैध्दान्तिक पुस्तकहर लेखेर मार्क्सवादी ज्ञान सिध्दान्तको भण्डारमा महत्त्वपूर्ण योगदान थपेर समृद्ध तुल्याउनु भएको छ।
माओवादको विकासको चरण :
मार्क्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । माओ त्सेतसङ ( १८९३ – १९७६ ) माओवादका प्रवर्तक हुनुहुन्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा के आवश्यकताले माओवादको विकास गरियो भन्ने विषय ज्यादै महत्त्वपूर्ण विषय हो।
खासगरी सामन्तवादी – साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने , विश्व सर्वहारा वर्गका महान् नेता तथा सोभियत सत्ताका प्रमुख स्टालिनको सन १९५३ मा मृत्यु भयो । त्यतिबेला अन्तर्राष्ट्रिय पनि थिएन ।
त्यसपश्चात सोभियत रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा प्रतिक्रान्ति भई पुँजीवादको पुनस्र्थापनाका कारणहरुको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने र ख्रुश्चोवी आधुनिक संशोधनवाद विरुद्धको लडाइँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओ त्सेतुङद्वारा मार्क्सवाद – लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद – लेनिनवाद – माओवादको तेस्रो , नयाँ र गुणात्मक उँचाइमा पुर्याउने काम भएको थियो । मार्क्सवाद – लेनिनवादलाई माओवादमा विकसित तुल्याउने काममा माओ त्सेतुङको अतुलनीय योगदान रहेको छ ।
सर्वहारा क्रान्तिको विज्ञानको मार्क्सवाद – लेनिनवाद – माओवादका रुपमा भएको गुणात्मक विकासको प्रक्रियालाई हामीले यसरी बुझ्न आवश्यक हुन्छ कि वर्गसंघर्षको ऐतिहासिक अनुभव र विकासको क्रममा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको क्रान्तिको विज्ञानको रुपमा मार्क्सद्वारा मार्क्सवादको अनुसन्धान भएको हो ।
अनवरत संघर्ष र महान् प्रतिभाको परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख अंग रहेको कुरा सर्वविधितैै छ । स्वयं एउटा विज्ञान भएको कारणले मार्क्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।
तत्कालीन समयमा वर्गसंघर्षका नयाँ अनुभव र समस्याहरुका सन्दर्भमा लेनिनद्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्याउने कामले मार्क्सवादलाई दार्शनिक क्षेत्रका साथै मार्क्सवादका तीनवटै अंगमा एक महत्त्वपूर्ण उपलब्धि थियो । आज यो विज्ञान संघर्षको विकासको तेस्रो , नयाँ र उच्च चरण साथै मार्क्सवादको तेस्रो , नयाँ र उच्च चरण माओ त्सेतुङद्वारा विकास गरिएको छ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइका रुपमा मार्क्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको मार्क्सवाद – लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तिन । आजको विश्वको मार्क्सवाद – लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी तथा संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् । जसरी मार्क्सवाद – लेनिनवादको स्थापना क्रान्तिकारी कम्युनिस्टहरूद्वारा सबैखाले प्रतिक्रियावाद , संशोधनवाद , अवसरवादका विरुद्ध भीषण संघर्षका क्रममा भएको थियो , त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम संघर्षका बीचबाट भइरहेको छ ।
माओवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यस माओवादी विश्वदृष्टिकोणका मूल विशेषताहरु यसप्रकार रहेका छन् :
(१) दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको सारतत्वका रुपमा अन्तर्विरोधको नियम , विपरीतहरुको एकताको नियमको उद्घाटन र व्याख्या , एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ।
(२) द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको क्षेत्रमा पदार्थको चेतनामा र चेचनाको पदार्थमा रुपान्तरणको दुई छलाङको सिध्दान्तको रुपमा विकास र व्याख्या ।
(३) आधार र उपरिसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध , सिध्दान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या , विवेचना र परिमार्जन , नयाँ जनवाद , दीर्घकालीन जनयुद्ध , नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिध्दान्त तथा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सिध्दान्तको प्रतिपादन तथा प्रयोग , वर्गसंघर्षलाई मुख्य कडी मान्ने , राजनीतिलाई कमान्डमा राख्ने , क्रान्तिलाई पकड्ने र उत्पादनमा जोड दिने , मुख्यतः लाल बन्दै निपुण समेत बन्नुपर्ने जस्ता मान्नेता अघि सारी सामाजिक चिन्तन , आर्थिक तथा साँस्कृतिक गतिविधिहरुको सञ्चालन र इतिहास निर्माणमा जनसमुदायको भूमिका उच्च मूल्यांकन सहित जनदिशाको मान्नेता निर्धारणसहितका विचारद्वारा ऐतिहासिक भौतिकवादका क्षेत्रमा महत्त्वपूर्ण योगदान ।दर्शनलाई जनसमुदायमा पुर्याउनुपर्ने कुरामा जोड।
(४) विश्वदृष्टिकोण र कार्यदिशा बीचको अन्त:सम्बन्धको प्रस्तुति । वर्गसंघर्ष तथा दुई लाईन संघर्षका समस्याहरुको समाधानका लागि कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध निर्मम संघर्ष। आदि।
यस अतिरिक्त माओ त्सेतुङले व्यवहारबारे , अन्तर्विरोधबारे , नौलो जनवाद , सही विचार कहाँबाट आउँछ ? , मनोगतवादको विरोध गर , घिसेपिटे पार्टी लेखन , युवा आन्दोलनको दिशा , दर्शनलाई जनताका बीचमा पुर्याउ , जनदिशा , जनताका बीचको अन्तर्विरोध सही ढंगले सञ्चालन गर्नेबारे , ठूलो माछाले सानो माछा खान्छ , दर्शनमा एकको दुई हुन्छ, ज्ञन सिध्दान्तको क्षेत्रमा दुई छलाङको सिध्दान्त , वैज्ञानिक समाजवाद अर्थात् वर्गसंघर्षको क्षेत्रमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त,संगठनको क्षेत्रमा तीन गर,तीन नगरको सिध्दान्त,पार्टीको कार्यशैली सुधार जस्ता महत्त्वपूर्ण दार्शनिक , सैध्दान्तिक तथा राजनीतिक लेखहर लेखेर मार्क्सवादी – लेनिनवादी ज्ञान सिध्दान्तको भण्डारमा थप योगदान पुर्याउनु भएको छ ।
मार्क्सवाद -लेनिनवाद -माओवादको ऐतिहासिक कार्यभार :
मार्क्सवाद एक वैज्ञानिक तथा परिवर्तनशील सिध्दान्त हो। यो निरन्तर विकासको चरणको प्रक्रिया पार गर्दै आज यसले पहिलो मार्क्सवादको विकासको चरण , दोस्रो लेनिनवादको विकासको चरण र तेस्रो नयाँ र उच्च चरणमा माओवादको विकासको चरणसम्म पार गरिसकेको छ ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइको रुपमा रहेको मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ ।
मार्क्सवाद – लेनिनवाद – माओवादको ऐतिहासिक कार्यभार के हो ? भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न हो । यसको ऐतिहासिक कार्यभार भनेको विश्व मानव समाजलाई नयाँ जनवाद , वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन , राज्यबिहिन समानतामूलक सभ्य र सुन्दर नयाँ संसारको निर्माण गर्नु रहेको छ । नयाँ संसार भनेको वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवाद हो ।
(लेखक : वरिष्ठ मार्क्सवादी चिन्तक,लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ) ।