बालुवाटारबाट रास्वपाका नेता-कार्यकर्ता पक्राउ

काठमाडौं । सभापति पक्राउको विरोधमा प्रदर्शन गर्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जना रहेका छन् ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो ।

सो कार्यक्रमका लागि बालुवाटारस्थित निषेधित क्षेत्र नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।

त्यहाँबाट बाहिर निस्किने क्रममा उनीहरु ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बाँकी नेता–कार्यकर्ताहरुल सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका छन् । आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको थियो ।

कार्यक्रमलाई उपसभापति डा।स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तयारी थियो।

१२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्ने भनिएको थियो । तर प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको पूर्वनिर्धारित कार्यक्रम तालिका प्रभावित भएको छ।