नेपाली कम्युनिस्ट पार्टीमा सर्वसत्तावादी प्रवृत्ति बढ्ने खतरा:अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको बताएका छन् ।

बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै नेपालले भ्रष्टीकरण अन्त्य नभएसम्म समस्याको समाधान नहुने औँलाए।

अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ। स्वार्थी प्रवृत्ति बढ्दै गएको छ। भ्रष्टीकरण बढ्दै गएको छ।

यो नै कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो’, उनले भने, ‘जबसम्म कम्युनिस्ट भ्रष्टाचारमुक्त हुन सक्दैन समस्याको समाधान हुन सक्दैन।

हामी कमीकमजोरी स्विकार्न तयार छैनौँ। सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएका छन् । कम्युनिस्ट पार्टी सर्वसत्तावादमा जाने खतरा छ ।

पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोतर्फ उनले चिन्ता व्यक्त गरे।

कार्यक्रममा उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो होइने भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

अहिले नेपालको कम्युनिस्ट पार्टीमा जडसुत्रवादी चिन्तन र दक्षिणपन्थी चिन्तन हाबी भएकाले समस्या झन् जटिल भएको उनको भनाइ थियो।

नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ, त्यसमा बहस गर्न आवश्यक रहेको नेपालले बताए।