उद्योगहरूको बिजुली महसुल बक्यौता किस्ताको सीमा बढाइयो
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउने सम्बन्धमा केही लचिलो निर्णय गरेको छ ।
यसअघि प्राधिकरणले २८ किस्तामा महसुल तिर्न सकिने बताउँदै आएकोमा बुधबारको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तिर्न सकिने व्यवस्था गरिएको स्रोतले बताएको छ।
महसुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो ।
यसैबीच विद्युत् नियमन आयोगले पनि डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगकी सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन भनेकी छन् ।
आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिनसमेत भनेको छ ।
विद्युत् महशुलको परिणाम वा अन्य कुनै पक्षउपर पछि आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसके पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने आयोगले उल्लेख गरेको छ ।
विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ बमोजिम आयोगले उक्त निर्देशन दिएको हो । प्राधिकरणले महसुल नबुझाएको भन्दै यही कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो।
तीमध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन निवेदन दिएका छन्। केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको छ। रासस