बझाङमा अरिँगालले टोक्दा एकै घरका दुई बालबालिकाको मृत्यु, तीन जना घाइते

काठमाडौं । बझाङमा अरिँगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । अरिँगालको टोकाइबाट शनिबार थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर र ५ वर्षीया छोरी सियाको मृत्यु भएको हो ।

शनिबार दिउँसो घर नजिकै बारीमा घाँस काट्न गएका बेला बिच्किएको अरिँगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार सोही घटनामा अरिँगालको टोकाइबाट डम्मरा, उनकी सासु र डम्मराकी सात वर्षीया छोरी सुमी पनि घाइते भएका छन् । उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको प्रहरीले जनाएको छ।