राजनीतिक दलहरुलाई कानुनभन्दा उपहार माथि, मीनबहादुर जस्तालाई धमाधम उन्मुक्ति

ठगहरु ठग्नका लागि विभिन्न टेक्निक ल्याउने, राजनीतिक दलहरु तिनीहरुबाट व्यक्तिगत फाइदा लिएर राज्य र जनतालाई हानि पुर्याउने ! यसको पछिल्लो उदाहरण हो कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित शिलान्यास गरिएको एमालेको पार्टी कार्यालय ।

विधिविधान मिच्ने काम गरिरहेका व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत असोज २५ गते शिलान्यास गरे ।

उक्त १० रोपनी १४ आना जग्गा भाटभटेनी साहु मीनबहादुर गुरुङ्गले एमालेलाई दानमा दिएको हो । यता, भवन निर्माण गर्दा लाग्ने खर्च पनि उनले नै व्यहोर्ने भनिएको छ । जग्गा र भवन गर्दा अर्बौं रुपैयाँ खर्च लाग्छ ।

त्यो अर्बौंको सम्पत्ति गुरुङ्गले एमालेलाई दिनुको पछाडि स्वार्थ जोडिएको छ भन्ने आम सर्वसाधारणले बुझिसकेका छन् । तर, एमालेले नबुझेको हो कि बुझ्न नचाहेको ? व्यापक बहसको विषय बनेको छ ।
गुरुङ्गले अर्बौं रुपैयाँ राजश्व छलेको भनि सर्वोच्च अदालतले ठहर गरेको छ ।

त्यो कर तिर्न सर्वोच्चले आदेश दिएको छ । तर, उनले तिर्दैनन् । वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई दुई वर्ष कैद र ८० लाख जरिवाना तोकिएको छ । यद्यपि, उनी न कैद भुक्तान गर्छन् न जरिवाना तिर्छन् । यस्तो व्यक्तिबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिन नैतिकताले दिन्छ ? यो विषयले एमालेभित्रै चौतर्फी विरोध भएको बुझिन्छ ।

सो विषयमा सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले तत्काल उक्त जग्गामा निर्माणको प्रक्रिया नथाल्न आदेश गरेको छ । यता, दुवै पक्षलाई कात्तिक २६ गते बोलाइएको छ । गुरुङ्गले किन एमालेलाई जग्गा दिए ? घामजस्तै छर्लङ्ग छ ।

अर्बौं रुपैयाँ कर तिर्न नपरोस्, ललिता निवास प्रकरणमा जेल जानबाट जोगियोस् र एक सयको सामान पाँच सयमा बेच्दा पनि सरकार मौन बसोस् भनेर उनले जग्गा दान दिएको प्रष्टै छ । एमालेले आफूलाई विगतदेखि नै जनताको पार्टी बनेर चिनाउँदै आएको छ ।

तर, एमाले जनताको होइन्, माफियाको पार्टी हो । व्यक्तिगत स्वार्थ लिएर माफिया जोगाउने पार्टीलाई जनताले अरु के भन्ने? हुन त एमालेका तल्लो तहका नेतादेखि अध्यक्षसम्म भ्रष्टाचारी छन् ।

जनप्रतिनिधि दलाली भइहाले, पार्टीका अध्यक्ष पनि उस्तै । जनताले मदन भण्डारी र मनमोहन अधिकारीको योगदान देखेर एमालेलाई भोट दिए । तर, त्यो पार्टी अब मदन र मनमोहनले चलाउँदाजस्तो छैन् । एमाले गुण्डागर्दी गर्ने, ठग्ने–लुट्ने, दादागिरी देखाउने, कर नतिर्नेहरुको पार्टी बन्दै गएको छ। जसले सबैभन्दा धेरै अपराध गरेको छ, ऊ एमाले प्रवेश गरेको छ ।

मुलुकको दोस्रो ठूलो पार्टी एमालेप्रति जनतामा व्यापक वितृष्णा जागेको छ । पार्टी अध्यक्ष ओलीका कारण पनि एमालेको नाम माटोमा मिल्दै गएको छ । देशको नेतृत्व गरिरहेका ओलीको पछिल्लो समय व्यापक विरोध भइरहेको छ। एमाले यस्तो पार्टी हो जो अपराधी जोगाउन लागिपर्छ।

यसको उदाहरण थुप्रै छ । पार्टी अध्यक्ष ओली स्वयं झापाको गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिना प्रकरणमा मुछिएका छन्। उता, भ्रष्टाचारीलाई जोगाउन हदम्याद लगाउन खोज्ने पनि उनी नै हुन् ।

मुखले मुलुकमा सुशासन कायम गर्छु भन्ने उनको पालोमा एउटा पनि भ्रष्टाचारको फाइल खोलिएको छैन् । उल्टै अपराध गर्नेहरुबाट जग्गा दान लिइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले गुरुङ्गलाई पक्राउ गर्यो । उनी धरौटीमा छुटेका थिए ।

यति थाहा हुँदाहुँदै पनि जग्गा दान लिन विधि र नैतिकताले दिन्छ ? अनि अझै ओली कुन पार्टी कार्यालय दान नलिई बनेको छ ? भन्दै प्रश्न गर्छन् । अलिकति लाज लाग्नुपर्दैन् ?

अदालतबाट दोषी ठहर भइसकेको व्यक्तिलाई पक्राउ गर्नुको साटो जग्गा दान लिइँदैछ । उनलाई पक्रेर कानुनको कठघरामा उभ्याउनुपर्ने थियो । तर, एमालेले जग्गा दान लिएर कानुनबाट जोगाउने काम गर्यो ।

ओलीले विगतदेखि नै दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । आफ्नालाई जोगाउने, आफूविरुद्ध बोल्नेलाई कारबाही गर्ने उनको प्रवृत्ति नै हो । सहकारीको रकम छानबिन गर्न बनेको समितिले रास्वपाका सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गर्यो ।

उनी अहिले प्रहरी हिरासतमा छन् । उनकै पार्टीका सांसद् ऋषिकेश पोखरेल र उनकी श्रीमतीमाथि पनि सहकारीको रकम अपचलनको आरोप लागेको छ । तर, उनीहरुलाई कारबाही गर्न एमाले तातिएको छैन् । नेपाली काँग्रेसका सांसद् धनराज गुरुङ्ग पनि अहिलेसम्म बाहिरै छन् ।

कारबाहीको सिफारिस उनलाई पनि भएको थियो । रास्वपाका उपसभापति डिपी अर्याल, माओवादीका शक्तिबहादुर बस्नेत, राप्रपाको सांसद गीता बस्नेतलाई पनि पक्राउ गरिएको छैन् ।

नामचाँहि कम्युनिष्ट, कामचाँहि घुस खाने । भन्ने बेला हामी जनताको पार्टी तर कामचाँहि व्यापारीको गर्ने । जनताको नाम बेचेर व्यापार गरिरहेको थियो, एमाले । जुन विस्तारै जनताको आँखाअगाडि आइरहेको छ ।

एमालेका नेताप्रति अब जनतामा आक्रोशबाहेक केही छैन् । एमाले अहिले सबैभन्दा धेरै गाली खाने पार्टी बनेको छ । २०४६ सालपछि एमालेबाट मनमोहन, माधव नेपाल, झलनाथ खनाल, ओली प्रधानमन्त्री भए । विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति भइन् ।

तर, उनीहरुले के उखाले ? पदको स्वाद चाँखे, व्यक्तिगत स्वार्थ लिए, आफ्ना आफन्त, कार्यकर्तालाई पोसे । तिनले गरेको त्यति नै हो । जनता र देशले एमालेबाट केही पाएको छैन् र पाउने पनि छैन् । मिलीजुली सरकारमा पनि एमाले छ नै ।

विडम्बना, एमाले देश र जनताका लागि ‘साप’ बन्यो । हिजो जुन उद्देश्यले एमाले पार्टी स्थापना भएको थियो, ओली आएपछि सिद्धान्त र विचार तहसनहस बन्यो । एमालेले आफ्नो लाखौं कार्यकर्ता भएको दाबी गर्छ ।
एमालेको त्यो दाबी झुठ्ठो रहेछ भन्ने पुष्टि भइसकेको छ ।

लाखौ कार्यकर्ता भए किन एउटा देश लुट्ने व्यापारीबाट दान लिइरहनुपर्थ्यो । कार्यकर्ताबाट एक सयको दरले उठाएर पनि पार्टी कार्यालय ठड्याउन सकिन्थ्यो । एमालेमा कस्ता व्यक्ति छन् ? त्यो त सबैको अगाडि छर्लङ्ग छ । ठगहरुलाई जोगाउने पार्टी बनेको छ एमाले । देशमा ऐनकानुन छ । जसको सबैले पालना गर्नुपर्छ । कानुन सबैका लागि बराबर हुनुपर्छ । तर, ओली सरकारको पारा बेग्लै छ ।

देश र जनताको होइन्, आफ्नो व्यक्तिगत फाइदा हेरिन्छ । फाइदा लिएर दलालहरुलाई छोडिन्छ । कानुनमाथि राजनीतिक दल हाबी भएको अवस्था छ । अझै यस्तो व्यक्तिले देश र जनताको गुनगान गाइरहेका छन् । नैतिकता बेचिसकेको व्यक्तिले देश बनाउनेभन्दा जनतालाई हाँसो उठेर आउँछ ।

ओलीलाई सत्ताभन्दा प्यारो केही छैन् । यसको पछाडि पनि कारण छ । हुन त ओलीलाई आफू पनि जेल पर्ने डर होला । त्यसैले अरु अपराधीलाई पनि नसमातेका होलान् ।

निष्पक्ष रुपमा कानुन कार्यान्वयन हुने हो भने ओली आफैं जेल जान्छन् । सरकारमा भएका कतिपय मन्त्रीहरुको पनि जेलकै बास हुन्छ । आफू पर्ने डरले अरुलाई पनि छोडिएको अवस्था हो । जनताले अब यस्तो पार्टी र व्यक्तिलाई पत्याउने होइन्, यिनीहरुलाई ठीक ठाउँमा ल्याउने हो ।