उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको हो।

१८ करोड ५१ लाख रुपैयाँ पुँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको पाइएपछि सहकारीको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ।

सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्यहरु आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुर, लेखा समिति संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् ।

उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला कालोसूचीमा छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

कोइराला सञ्चालक भएको बेला लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहित अन्य सञ्चालकलाई कालो सूचीमा राखेको छ । उनीमाथि भने प्रशासन मौन छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ।

अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

प्रहरीले कागजात जफत गरेपछि सहकारीका अध्यक्ष रौनियारले प्रहरीले जबरजस्ती सामग्री जफत गरेको आरोप लगाएका छन्।

तर प्रहरी प्रवक्ता जोशीले सञ्चालक समितिले असहयोग गरेपछि जनप्रतिनिधिको रोहबरमा ताला फोडेर सामग्री जफत गरेको बताए।