सशस्त्र प्रहरी र राजश्व टोलीमाथि आक्रमण

बुटवल । रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेका सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि एक समूहले आक्रमण गरेको छ ।

सिमावर्ती क्षेत्रबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैधरुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरेको भन्ने खबर पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।

सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।

अवैध चिनी बरामद गरेर फर्किने क्रममा एक सयभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेका थिए। त्यसपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर नेतृत्वमा थप फोर्स झिकाइएको थियो।

सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएपछि बरामद चिनीसहित सवारी साधन राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको छ।

ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डे लगायतलाई चोट लागेको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको छ।