बेपत्ता छानबिन तथा सत्य निरूपण आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं। बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशन गरी आवेदन मागेको हो।

इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम अध्यक्ष वा सदस्य पदका लागि अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी सात दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेश गर्न भनिएको छ।

३५ वर्ष उमेर पूरा भई, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेकोलगायत योग्यता तोकिएको छ।

अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।

मन्त्रिपरिषद्को कात्तिक २ गतेको बैठकले गत २०८० चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरेको थियो।