ओलीलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन परेको छैन: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्व सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको बताएका छन्।

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई आफूले नियुक्त गरेको बताए।

‘देशमा लोडसेडिङ नभएको यो सरकारलाई मन परेको छैन । उनीहरू दलाल पुँजीपतिलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनतालाई मात्र तिर्न बाध्य पार्न कुलमानलाई निकाल्न खोजेको निकै ठुलो चालबाजी तपाईँहरूले थाहा पाइसक्नुभएको छ’, उनले भने, ‘धेरै कुरा भनिराख्न आवश्यक नै छैन। एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतिर लाग्यो, अर्को प्रधानमन्त्रीलाई त्यो सह्य भएन, त्यस कारण उज्यालोबाट अँध्यारोतर्फ लान उद्यत छ।

उनले आफू प्रधानमन्त्री भएका बेला सरकारी जग्गा जालझेल गर्ने, आफ्नो नाममा लैजाने भूमाफियालाई गिरफ्तार गरेर कारबाहीका लागि हिरासत पुर्‍याएको तर अर्कोतिर तिनै व्यक्तिबाट अहिलेको प्रधानमन्त्रीले दान लिएर खुला रूपमा भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको उल्लेख गरे।