सहकारी ठगी होस् कि मानव तस्करी, सबैलाई कारबाही गर्नुपर्छ: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि सजाय भोक्नुपर्ने बताएका छन्।
शनिबार फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ’ कानुनी शासनको मान्यता यही हो । कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ ।
सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ ।
गल्ती गर्नेले सजाय भोग्नुपर्ने भन्दै उनले भनेका छन्, ‘यो विचार, आवद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु।
त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन।
रास्वपा सभापति रवि लामिछानेमाथि कानुनी कारबाही अघि बढ्दा सत्तारुढ भएकै कारण मानव तस्करी प्रकरणमा जोडिएका एमालेका नेता तथा कोशी सरकारका तत्कालिन आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीमाथि छानबिन नभएको भनेर आलोचना भइरहेका बेला सत्तारुढ दल कांग्रेसका महामन्त्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।