रविको म्याद सकियो, आज पुनः अदालत लगिने

फाइल तस्वीर

कास्की । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लोपटक थपेको १० दिनको म्याद आज सकिँदै छ।

प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो। १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो।

प्रहरीले पाएको उक्त म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउने तयारी गरिएको छ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसैबीच आज पनि रास्वपाले पोखरामा प्रदर्शन गर्ने भएको छ। आफ्ना सभापतिको पक्षमा रास्वपाले निरन्तर आन्दोलन गर्दै आएको हो।

रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको छ। त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने रास्वपाको तयारी छ।