अन्य मुलुकले नागरिक र पूँजी लगेर विकास गर्दै, सरकार टुलुटुलु रमिता हेर्दै

हालैमात्र अमेरिकामा राष्ट्रपति पदको लागि निर्वाचन भयो । डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा एक लाखभन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकले मतदान गरे । २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो ।

तर, त्यो चुनावमा विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिएकाहरु सहभागी भएनन् । नेपाली नागरिकहरुले धमाधम नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइरहेका छन् । अमेरिका, अष्ट्रेलियालगायतका मुलुकमा भएका लाखौं नेपालीहरु त्यहाँको नागरिकता लिने कोसिशमा छन् । अष्ट्रेलियामा लगभग सात लाख नेपाली छन् । तीमध्ये लाखौंले त्यहाँको नागरिकता लिइसकेका छन् ।

नेपाल आफैंमा सुन्दर देश छ । प्राकृतिक हिसाबले नेपाल धनी छ । तर, नेपाली नै यहाँ बस्न चाहँदैनन्, किन ? दक्ष जनशक्ति जम्मै विदेश ओइरिएका छन् । अन्य देशले रफ्तारमा विकास गरिरहेका छन्, हामी पछि परिरहेका छौं । हामीसँग सबथोक छ, तर त्यसको प्रयोग, प्रचारप्रसार गर्न सक्ने कोही छैनन् ।
विदेशी लगानी भित्र्याएर अन्य मुलुकले विकास गरिरहेका छन्।

यद्यपि, हाम्रा नेताले त्यति पनि गर्न सकेनन् । उल्टै भएको जनशक्तिलाई विदेश लखेटिरहेका छन् । देश विकास गर्ने युवाले हो । युवा मुलुकको उत्पादनशील शक्ति हुन् । अन्य देशले युवाशक्तिको दिमाग, श्रमको सदुपयोग गरिरहेका छन् ।

विडम्बना, हामीकहाँ ठ्याक्कै उल्टो छ । अन्य देशले आफ्नो मुलुकको युवा शक्तिलाई बाहिर जानै दिँदैनन् । काम गर्न जान, अन्य मुलुकको नागरिक बन्न उनीहरुले रोकेका छन् । उनीहरु आफ्ना नागरिकलाई विभिन्न मुलुक पठाएर त्यहाँको विकास, शैलीको अध्ययन गर्न लगाउँछन् ।

हामीचाँहि शिक्षा र रोजगारीको नाममा नागरिकलाई विदेशमै सेटल हुन प्रोत्साहन गरिरहेको छौं । कुनै नागरिकले नेपाली नागरिकताको लागि निवेदन दिएमा सरकारले तुरुन्त स्वीकृत गरिदिन्छ । कारण खोज्दैन् । के कारणले नागरिकले नागरिकता त्याग्दै छन् ? उनीहरु विदेशमै सेटल भएमा मुलुकमा के असर पर्छ ? सरकारले अध्ययन गरेको पाइँदैन् ।

सन्तानले विदेशी नागरिकता लिनुपर्छ, अभिभावकको भुइँमा खुट्टा हुँदैन् । मेरो छोराछोरीले के–के न गर्यो भन्ने ठान्छन् । नागरिकता त्यागेपछि ऊ अर्काको देशको नागरिक हुन्छ । उसले अरुकै देशको लागि काम गर्छ । यसमा बाबुआमा खुशी हुनुपर्ने केही कारण छ ? देशको नागरिकता त्यागेपछि कसको बुवा को? कसको आमा को ?

त्यसैले त पछिल्लो समय बुढेस्कालमा बुवाआमाको बिचल्ली भइरहेको छ । छोराछोरी विदेशमा सेटल भइसकेका हुन्छन्, आपत पर्दा साथमा कोही हुँदैन् । त्यतिबेला पछुताएर के गर्ने ? एउटा नागरिक बनाउन सरकारले पनि ठूलो लगानी गरेको हुन्छ। अभिभावकको त लगानी हुन्छ नै, राज्यको पनि उत्तिकै लगानी हुन्छ ।

एउटा महिलाको कोखमा गर्भ आएपछि चेकजाँच गराउँदा, शिक्षा, स्वास्थ्यलगायत यावत कुरामा सरकारले लगानी गरेको छ । बच्चालाई पढाउँदा, हुर्काउँदा अभिभावकले आफ्नो उमेर सकाउँछन् । बालबच्चा भन्दाभन्दै उमेर ढल्किन्छ, बुढेसकालमा केही न केही । मेहिनेत पनि विदेशीले खान्छ, पूँजी पनि ।

अभिभावकको मेहिनेत ‘वालुवामा पानी’ बराबर हुन्छ । राज्यले गरेको लगानी पनि फिर्ता हुँदैन् । सरकार आफूले विकास गरेको बताउँछ । तर, के विकास गर्यो ? देशको जनतालाई देशमै रोक्न नसक्ने सरकारले विकासको बाजा बजाउनु बेकार छ । नेपालमा अब बुढाबुढी, रोगी र भुरा मात्र केही छन् ।

विकसित मुलुकहरुको पोलेसीः जानेबित्तिकै ऋण थुपारिदिने । घर, गाडी, ल्यापटप, मोबाइल सबै ऋणमा । त्यति गरेपछि उनीहरुले कमाएको पैसा त्यही खर्च गर्छन् । बाहिर पठाउन पाएनन् । अन्य देशले यसरी विकास गरिरहँदा हामीचाँहि लाखौं रुपैयाँ पनि विदेश पठाइरहेका छौं, जनता पनि ।

नेपालमा पनि सरकार छ, बैंक तथा वित्तिय संस्था छ । तर, यहाँ देशमै केही गर्छु भन्नेले ऋण पाउँदैनन् । ऋणको चार गुणा धितो राख्नुपर्छ अनि बल्ल पाइन्छ । अनि कसले यहाँ केही गर्न चाहन्छ ? व्यापारी, सरकारी कर्मचारी, राजनीतिक दलका छोराछोरी अमेरिका, अष्ट्रेलियामा छन् ।

सरकार यतिसम्म निरीह भयो कि अन्य मुलुकको नागरिकता लिइसकेकाले नेपालमा भएको सम्पत्ति बेचेर लाँदासमेत केही गर्न सक्दैन् । विदेश पसिसकेकाले नेपालमा भएको सम्पत्ति लैजान नपाउने भनेर कानुन बनाउनुपर्ने हो । तर, बनाउँदैन् । किन कि राजनीतिक दलले जति नै देश विकास गर्छु भनेपनि छोराछोरीले अर्कैको देश बनाइरहेका छन् ।

देशमा पटकपटक निर्वाचन भयो । जनताबाट चुनिएर गएको प्रतिनिधि सरकारमा छन् । सदन चलिरहेको छ । तर, अन्य मुलुकको नागरिकता लिइसकेकाले यहाँको सम्पत्ति बेचेर लैजान नपाउने भनेर सरकारले कानुन बनाउन सकेको छैन् ।

२०४८ सालअघि विदेश जानेको संख्या कम थियो ।
अहिले त ह्वात्तै बढेको छ । सरकारले बेलैमा यो कानुन बनाइदिएको भए न युवा जनशक्ति विदेशमा हुन्थे न पैसा नै ।

देश सबैतिरबाट खोक्रो भयो । विकासमा पनि पछाडि, आर्थिक रुपमा पनि पछाडि । सबैले आफ्नो देशको नागरिकलाई प्राथमिकतामा राख्छन् । अन्य मुलुकको नागरिकले जेसुकै गरेपनि उनीहरु अन्य मुलुकको नागरिक नै हुन्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको नागरिकलाई प्राथमिकतामा राख्ने एजेण्डा सुनाएपछि त्यहाँका जनताले उनलाई मतदान गरे । अन्य देशका नागरिकलाई हेर्ने नजर उही हुन्छ । नेपालमा कस्तो भयो भने बुवाआमा भ्रष्टाचार गरेर कमाउने, छोराछोरी विदेश पठाउने अनि कालोधन त्यहाँ लगेर सेटल गर्ने ।

यो क्रम अहिले पनि चलिरहेको छ । सरकारले ज्येष्ठ नागरिक भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यो नियम लागु गरेपछि २ लाख ३६ हजार ज्येष्ठ नागरिक भत्ता लिने घटेका छन् । छोराछोरी अमेरिका गएपछि बुवाआमा उतै गए । सरकारले विगतमा खातामा भत्ता जम्मा गरिँदै आएको थियो ।

विदेशमा बसेर उनीहरुले मोज गरिरहेका थिए । नयाँ नियम लागु गरेपछि उनीहरु आउँदै आएनन् । सरकारको ढुकुटीमा ठूलो रकम जोगिएको छ । सरकारले अब सर्वसाधारणको सम्पत्ति छानबिन गर्नुपर्छ । विकसित मुलुक जान लाखौं रुपैयाँ लाग्छ । त्यो पैसा कहाँबाट आयो ?

यो खोताल्न जरुरी भइसकेको छ । सरकारले स्रोत खोज्ने हो भने भ्रष्टाचारी, राजश्व छलीहरु बाहिर आइहाल्छन् । लुटहरु कानुनको कठघरामा आउँछन्, सरकारको ढुकुटीमा ठूलो रकम जम्मा हुन्छ । अनि देश विकास गर्नलाई ठूल्ठूला भाषण गरिरहनुपर्छ ? उथुलपुथुल गर्नुपर्छ ?

हामी यो त्यो गर्छौ भनेर मात्र भएन् । ससाना काम गर्यो भनेपनि देश धनी हुन्छ । अन्य मुलुकमा आम्दानी र खर्च सरकारलाई देखाउनुपर्छ । तर, हामीकहाँ जे गरेनि छुट । जसलाई ठगेपनि, भ्रष्टाचार गरेपनि, सरकारी, गुठीको जग्गा दर्ता गरेर खाएपनि, राजश्व छलेपनि राज्यलाई देखाउनुपर्दैन् ।

त्यसैले त देशमा अपराध बढ्यो । सरकारमा बस्नेहरुले भाषण गर्ने होइन्, कानुन र नीति बनाउने हो । हाम्रा राजनीतिक दलका नेताहरु भाषण गर्न च्याम्पियन छन्, काम गर्न सुस्त । हुन त आफैं पर्ने डरले पनि कानुन नबनाएका होलान् । नेताहरुले केही गर्नुपर्दैन् । कानुन बनाएर कार्यान्वयन गर्ने हो भने देश आफैं बन्छ ।