रवि लामिछानेलाई रुपन्देही लगियो

काठमाडौं । करिब महिना दिनदेखि कास्की प्रहरी हिरासत रहेको पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ ।

उनलाई सहकारी ठगी मुद्धामा बयानका लागि रुपन्देही प्रहरीले यहाँ ल्याएको हो ।

सहकारीको बचत अपचलन मुद्दामा लामिछाने २६ दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । त्यसक्रममा चारपटक म्याद थपेर बयान लिइएको छ । लामिछानेलाई बुद्ध एयरको जहाजबाट बयानका लागि भैरहवा विमानस्थल हुँदै यहाँ ल्याइएको हो ।

उनलाई मंगलबार बिहान साढे ५ बजे नै ल्याइने तयारी गरिएको थियो । तर भैरहवाको मौसम खराब भएपछि ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याइएको हो । लामिछानेलाई यहाँ ल्याइएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेको समर्थनमा रास्वपाले भैरहवामा प्रदर्शन थालिसकेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

कास्कीमा भने रविमाथि सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ।