कालीकोटको नरहरिनाथ गाउँपालिका–३ बालविवाहमुक्त वडा घोषणा

कालिकोट।बालविवाहविरुद्धको अभियानले कालीकोट जिल्लामा ठोस उपलब्धि हासिल गरेको छ। नरहरिनाथ गाउँपालिका–३ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ। पाँच वर्ष अघि ७२ प्रतिशत रहेको बालविवाह दरलाई शून्यमा झार्दै यो वडा अब बालविवाहमुक्त भएको हो।

बालविवाह अन्त्यका लागि सादा नेपाल, किर्डाक नेपाल, आईएनएफ नेपाल, सहास नेपाल लगायत संस्थाहरूको सहयोगमा जनचेतना कार्यक्रम, घरदैलो अभियानमार्फत र नीतिगतरुपमा सुधार गरिएको थियो। वडा अध्यक्ष कटक बहादुर बुढाले सबैको प्रयासले बालविवाह नियन्त्रणमा पूर्ण सफलता मिलेकोमा खुशी व्यक्त गर्दै संलग्न सबैलाई धन्यवाद दिए।

गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले भोलि वडा नं ४ लाई पनि बालविवाह निषेधित घोषणा गरिने र बाँकी वडाहरूलाई पनि बालबिवाह निशेधित क्षेत्र बनाउने योजना रहेको जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य हिक्मत बहादुर बिष्टले बालविवाह अन्त्यलाई सरकारको दिगो विकास लक्ष्यसँग जोड्दै अन्य वडाहरूलाई पनि यो अभियानमा सामेल गर्न जोड दिए।

कालीकोटको यो सफलताले बालविवाहमुक्त समाज निर्माणमा ठूलो उदाहरण प्रस्तुत गरेको छ। आगामी दिनमा अन्य स्थानीय तहहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।