नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट
काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ ।
बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यू–१९ महिला विश्वकपमा छनोट भएको हो। ६ खेलमा नेपाल र यूएई दुवैले १०/१० अंक जोडेपनि रनरेटको आधारमा नेपाल विश्वकपमा पुगेको हो।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाए । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिए । साबित्री धामीले १२ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बताए ।
त्यस्तै रिनिथा रन्जितले २० रन बनाए भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए ।
उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गरेका थिए । नेपालका रिया शर्मा र सीमा केसीले २–२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिए।
नेपालले अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु–१९ महिला टी२० विश्वकप खेल्ने छ।