मंसिर १२ भित्र बक्यौता बुझाउन उद्योगहरुलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न उद्योगीहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो।

प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ ।

सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ।

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो ।

तर कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेपछि प्राधिकरणले अधिकांश उद्योगहरुमा लाइन जोडिदिएको छ ।

तर, मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी समेत प्राधिकरणले दिएको छ। उद्यीहरुले भने प्राधिकरणले पठाएको बिलमा प्रमाण नपुगेको दाबी गरिरहेका छन्।