आजदेखि बंगलादेश पठाइँदै बिजुली

काठमाडौं। नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ ।

गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो ।

भारतले स्वीकृति दिइसकेकाले शुक्रबार दिउँसो १२।४५ बजे नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीद्वारा ‘भर्चुअल’ उद्घाटन गरी बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्नेछ ।

२५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न भारतले सहमति दिएको छ ।

बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुने बताईएको छ ।

कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ।

प्रतियुनिट ६।४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणको भनाइ छ।