आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज चार समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन बारे छलफल हुने छ ।

अपराह्‍न १:१५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने छ।

त्यसैगरी १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।