देश र जनताको सेवा गर्ने नाममा नेताहरुको लुटधन्दा, उद्योग, कलकारखाना सबै बन्द
दुई दशकअघि राजधानीमा ट्रली बस चल्थ्यो । त्रिपुरेश्वरदेखि माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, कौशलटार, सल्लाघारी हुदैँ भक्तपुरको सूर्यविनायकसम्म त्यो बस जान्थ्यो।
त्यसपछि पुनः सोही रुटमा सञ्चालन हुन्थ्यो । २०३२ सालमा अनुदानस्वरुप चीन सरकारले झण्डै तीन सय वटा ट्रली बस दिएको थियो ।
बस सञ्चालन गर्न आवश्यक उपकरण पनि चीनले नै जडान गरिदिएको थियो । ट्रली बस विद्युतीय थियो । बसको माथि तार जोडिएको हुन्थ्यो । जसले विद्युत आपूर्ति गथ्र्यो । बिहान ४ बजेदेखि राति ९ बजेसम्म उक्त बस उपत्यकामा चल्थ्यो । एकातिर भाडा सस्तो थियो, अर्कोतिर पैसा दिएपछि टिकट पनि दिइन्थ्यो ।
यो बस चल्दा आम सर्वसाधारणलाई निकै सहज भएको थियो। तर, राजनीतिक दलका नेता तथा कर्मचारीहरुले बस नै बेचेर खाए । ट्रली बसमा काम गर्ने कर्मचारीहरुले कम्पनी नै डुबाए । अनि आफुलृ चाँहि घडेरी जोडे ।
अहिले बेलुका ५ बजेपछि त्रिपुरेश्वरबाट भक्तपुर जाने गाडी पाइदैँन । केही गरी गाडी पाइहाले पनि खुट्टा टेक्ने ठाउँ हुदैँन ।
अर्कोतर्फ, सहचालक, चालक बढी भाडा असुल्छन् तर टिकट चाँहि दिदैँनन् । पञ्चायतकाल वा राजाको समयमा मुलुकमा थुप्रै उद्योग, कलकारखाना थियो । कपडादेखि, नेपाली कागज, जुत्ता, जुत्तमेल, चाइनिज इट्टा, गलैँचा, गार्मिट, सिमेण्ट, धागोलगायत नेपालमै उत्पादन हुन्थ्यो ।
सरकारी स्वामित्वका यस्ता उद्योग तथा कलकारखाना हजारौँ थियो ।
तर, अहिले सरकारी स्वामित्वमा उद्योग, कलकारखाना नै छैनन्। कतै भएपनि वर्षौदेखि बन्द छन् ।
राजनीतिक दलका नेताहरुले सरकारी स्वामित्वका सम्पूर्ण उद्योग, कलकारखाना निजीकरण गरिरहेका छन् । जसका कारण आम सर्वसाधारण महँगोमा सामान खरिद गर्न बाध्य भएका छन् । त्यो पनि गुणस्तरहीन ।
सरकारकै उद्योग, कलकारखाना हुँदा त्यहाँ उत्पादन भएका वस्तु सहुलियत मूल्यमा पाइन्थ्यो । अहिले त्यो बेचिएपछि निजी व्यवसायीहरुको ठगीधन्दा मौलाएको छ ।
उनीहरु गुणस्तरहीन सामान उत्पादन गर्छन् । अनि मूल्य चाँहि एकदमै महँगो हुन्छ । अझ रोचक कुरा त के छ भने निजी व्यवसायीहरुले पनि यहाँ उत्पादन नगरी विदेशबाट सामान आयात गर्ने गरेका छन् ।
यहाँ आफुलाई उद्योगी भन्छन् । तर, विदेशबाट आयात गरिएको सामान बेच्छन् । अहिले हामीले लगाएका कपडादेखि खाने खाद्यान्न सबै विदेशबाटै आयात गरिएको हो । नेपालमै उत्पादन भएका कुनै पनि वस्तु हामीले उपभोग गर्न पाएका छन्।
हाम्रो घर वा कोठामा भएका सम्पूर्ण वस्तु तथा सामग्री विदेशी नै पाइन्छ । हामी नेपाली नागरिकता बोक्छौं । विडम्बना, त्यँही नागरिकता राख्न प्रयोग गरिएको कपडा वा झोला चाँहि विदेशबाट आयात गरिएको हुन्छ ।
यहाँ मारवाडीहरुले लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका अधिकांश निजी बैंक तथा वित्तिय संस्था मारवाडीहरुकै रहेको पाइन्छ । मुलुकको जनसंख्याको आधाभन्दा बढी मानिसको घरजग्गा, गाडी र सेयर यीनै बैंक तथा वित्तिय संस्थाको नाममा छ ।
प्रधानमन्त्री केपीशर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत अन्य राजनीतिक दलका नेताहरु दिउँसो राष्ट्र र राष्ट्रियताको कुरा गर्छन् ।
अनि बेलुका चाँहि त्यँही मारवाडीहरुसँग पैसा थाप्छन् । चुनावदेखि पार्टी कार्यक्रम गर्दा मारवाडीबाटै रकम उठाउँछन् ।
एमाले मंसिर ७ गते लाखौं कार्यकर्ता सडकमा उर्ताछु भन्छ । तर, एउटा पार्टी कार्यालय बनाउन चाँहि व्यापारी मीनबहादुर गुरुङको शरणमा पुग्छ ।
अनि लाखौं कार्यकर्ता उतार्न सक्ने दाबी गर्नेले पार्टी कार्यालय बनाउन चाँहि उनीहरुबाटै एक–एक हजारौं रुपैयाँ उठाउन सक्दैँन त ?
कि कार्यकर्ताले पार्टीमाथि नै विश्वास गर्दैनन् ? नेताहरुले मुलुक विकास गर्ने नाममा जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ मात्र पुरा गरे ।
उनीहरु बाटो, विद्यालय, अस्पताल बनाएको दाबी गर्छन् । तर, नेताहरु आउनुअगावै यो बनिसकेको थियो । अनि कसरी उनीहरुले बनाए त ? जनतालाई झुक्याएर उनीहरुले खर्बौको सम्पत्ति जोडिसकेका छन् । राज्य र जनतालाई लुटेका छन् ।
राज्यको सम्पत्तिको दोहन गरेका छन् । अनि हामी नै देश र जनताको संरक्षक खोक्रो भाषण गर्छन् । २०४६ सालपछि मुलुकमा राजनीतिक परिवर्तन भयो ।
त्यसपछिको सरकारले देशलाई विदेशी ऋणतर्फ धकेल्नुबाहेक केही काम गरेको पाइदैँन । उल्टै आफ्नै देशको भूभाग भारत र चीजलाई बेच्यो । सरकारी, सार्वजनिक जग्गा पनि व्यक्तिको नाममा लैजान दियो।
अहिले जनताका छोराछोरी विदेशमा छन् । गाउँदेखि शहरसम्म बुढाबुढी मात्र भेटिन्छन् । जनताका छोराछोरी विदेशमा रगतपसिना बगाएर नेपालमा रेमिट्यान्स पठाइरहेका छन् । त्यँही रेमिट्यान्समा दलका नेता र कर्मचारीहरुको मोजमस्ती चलेको छ ।
आफ्ना कार्यकर्ता भेला गरेर नेताहरु नेपाललाई सिंगापुर बनाउँछौं भन्दै झुठ्ठा भाषण गर्छन् । हामीले पनि अझै बुझेका छैनौं कि हिजो देशमा विकास गर्ने नाममा सीधासाधी जनताका छोराछोरीलाई सडकमा ल्याएर मार्ने यीनीहरु नै हुन् ।
मुलुक समृद्ध बनाउने, देशमै रोजगारी दिने भन्दै जनताका छोराछोरीलाई शहिद बनाए । अनि अहिले मोजमस्ती गरिरहेका छन् । अनि यस्ता पनि नेता रे ।
यीनीहरु नेता होइनन् देश र जनता लुट्ने माफिया हुन् । अब हामी नागरिकले पनि यो बुझ्न ढिलो गर्नुहुन्न । अझै पनि नेताहरुमाथि विश्वास गरिरहेमा यीनीहरुले नेपाल नै बेचिसक्छन् अनि हामीलाई पत्तो पनि हुदैँन।
०४६ सालअघि एक जोर चप्पल र कपडा लगाउन नसक्ने यीनीहरुले अहिले खर्बौको सम्पत्ति जोडिसकेका छन् । दशौं रोपनी जग्गामा महलजस्तो घर बनाएका छन् । अर्बौ पर्ने गाडीमा चढ्छन् ।
उनीहरुले लगाउने कपडा महँगा–महँगा हुन्छन्। अनि यति छोटो समयमै यीनीहरुले कसरी यत्रो सम्पत्ति जोडे ? यसको जवाफ अब जनतालाई दिनैपर्छ ।
देश र जनताको सेवा गर्छु भन्दै राजनीतिमा छिरेर लुट्नु लुटे । देशलाई २७ खर्ब विदेशी ऋण बोकाए । अनि जनताको महँगी र बेरोजगारीबाट ढाड सेकाए ।
त्यसैले, अब दलका नेता र कर्मचारीहरुको सम्पत्ति छानबिन गरिनुपर्छ । जनताले तिरेको कर, विदेशी ऋण र रेम्टियान्समा मोजमस्ती गर्ने यीनीहरुलाई देशबाटै लखेट्न आवश्यक भइसकेको छ ।
किनकि जबसम्म यीनीहरुलाई भगाइदैँन, तबसम्म नेपालमा केही पनि हुदैँन । पहिला देशमा एउटा राजा थिए । तर, अहिले ३६ हजार जनप्रतिनिधि छन् । र, उनीहरु राजाझैं भएका छन् ।
नेताहरुले हिजो राजाले देश सिध्यायो भन्दै जनतालाई सडकमा उतारे । उनीहरुलाई शहिद बनाए अनि आफु सत्तामा पुगे ।
तर, सत्तामा पुगेर के गरे ? देश धितो राखेर विदेशीबाट ऋण लिए । जनतालाई छोराछोरीलाई विदेशमा बेचे । रेमिट्यान्समा मोजमस्ती गरे । अनि राज्यको सम्पत्तिको चरम दुरुपयोग गरे।
यँही हो यीनीहरुको उपलब्धी । नेताहरुको असली रुप बाहिर आइसकेको छ। त्यसैले, यीनीहरुलाई पनि फ्याँक्न जनताले ढिलो गर्नु हुदैँन।