दुर्गा प्रसाइँलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको भन्दै पक्राउ पुर्जी लिएको थियो।
सिआइबीले मंगलबार बिहानै पक्राउ गरेको भएपनि थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा बुझाएको थियो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि उनलाई पक्राउ गरेको हो।