२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पाण्डेको निर्देशन
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा वायुसेवा कम्पनीसँगको छलफलमा उच्चतम मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनर्विचार गर्न निर्देशन आग्रह गरे।
हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ, मन्त्री पाण्डेले भने,नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गरेका छन्। यस विषयले म निकै दुःखी छु।
यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले असन्तुष्टि जनाए।
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाईभाडा लिएको गुनासो आएको बताए। उनले प्रत्येक कम्पनीलाई बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए। एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी समेत दिए।
छलफलमा मन्त्रालयका सचिव डा गणेश पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाईभाडा नियन्त्रण सम्बन्धी पाँच बुँदे सहमति कार्यान्वयन नभएकोमा प्रश्न गरेका थिए।
छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए। एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो।
आजको छलफलमा नेपालमा सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो।