साफ यू-२० महिला च्याम्पियनसिप बंगलादेशमा हुने
काठमाडौं । साफ अन्डर–२० महिला च्याम्पियनसिपको छैटौं संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो।
ढाकामा हुने प्रतियोगिता आगामी माघ ११ गतेदेखि फागुन ७ गतेसम्म चल्नेछ । यसअघि अन्जना राना मगरको कप्तानीमा रहेको नेपाली अन्डर नाइन्टिन टिम फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। त्यसपछि नेपाली अन्डर ट्वेन्टी टिमले भने अपेक्षित प्रदर्शन गर्न सकेन।
नेपालले अन्डर एटिन, अन्डर नाइन्टिन र अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन । यो प्रतियोगितामा नेपाल दुई पटक फाइनल पुगेको छ । त्यसैगरी, साफ पुरुष अन्डर नाइन्टिन च्याम्पियनसिप २०८२ सालको कात्तिक १९ देखि २९ गतेसम्म हुने भएको छ।
यो प्रतियोगिताको आयोजना अधिकार भारतले पाएको छ । समग्रमा १८, १९ र २० वर्षमुनिको साफ पुरुष च्याम्पियनसिपमा नेपाल दुई पटक विजेता बनिसकेको छ । अन्डर नाइन्टिनतर्फ नेपाल सन् २०१५ र अन्डर–१८ मा २०१७ मा च्याम्पियन बनेको थियो।