मोरङमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु
काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो।
दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। लिम्बुलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो। धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुई वटा मोटरसाइकलमा चार जना सवार थिए। ओभरटेक गर्न खोज्दा दुई वटा मोटरसाइकल ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीका अनुसार ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो।
दुर्घटनामा पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ। उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।