कांग्रेस,एमाले र रास्वपा बद्नामीमा पनि भिड्दै, रवि जोगाउन रास्वपाको गगनमाथि काउन्टर
काठमाडौं। नेपाली राजनितिमा उच्च पदस्थ व्यक्तिहरु बद्नामी हुनेमा कांग्रेस–एमाले नै धेरै देखिएका छन्। र नयाँ भनिएको दल रास्वपाका सभापति रवि लामिछाने छोटो समयमा नै बद्नामी हुनेमा अगागी देखिएका छन्। त्यस्तै आफ्नो पार्टीका सभापति रवि लामिछाने जोगाउन मनिष झाको गगनमाथि काउन्टर गरिरहेका छन्।
पछिल्लो समय एकपछि अर्को उच्च पदस्थ व्यक्तिहरु प्रहरीको फन्दामा परिरहेका छन्। त्यसमा माननीयहरुको सूची लम्बिनेक्रम जारी छ। माननीय ज्यूहरु आफ्नै उच्छृंखल हर्कतका कारण कोही हिरासतको हावा खाइरहेका छन् त कोही दिनानुदिन बदनाम बनिरहेका छन्। जसले नेताहरुका विवादित छवि छरपष्ट हुँदा आफ्नो मात्र नभई माननीय पदकोसमेत मानमर्दन गरिरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकै बोलीलाई सापटी लिने हो भने ‘भेट्दा खेरी माननीय भन्नुपर्छ। बोली सुन्दा खेरी अचम्म लाग्छ।माननीय अर्थात मान गर्न योग्य, आदरणीय, प्रतिष्ठित ओहोदाका उच्च पदस्थ व्यक्ति माननीय सांसद माननीय मन्त्री इत्यादी।
अफसोस्, तिनै माननीयहरुको हर्कतले माननीय पदको अपमान मात्र भइरहेको छैन कि बदनाम नै भइरहेको छ। माननीयहरुको हर्कतले प्रधानमन्त्री जति अचम्मित छन्, सर्वसाधरणसमेत दिक्दार हुँदै गएका छन्।
माननीय भन्नै लाज लाग्ने अवस्था बनिसकेको छ। न बोलीको ठेगान छ न त व्यवहार नै गतिलो छ। माननीयहरुका भ्रष्ट आचारण र विवादित छवी छरपष्ट हुँदा कोही हिरासतको हावा खाइरहेका छन् त कोही आफ्नै नेता–कार्यकर्तादेखि सर्वसाधरणको लखेटाइमा परिरहेका छन् ।
जसका कारण विवादमा तानिँदा अदालती मुद्दा मामिलामा माननीयहरुको कमी पटक्कै छैन। सुरुवात गराँै संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट। चितवनबाट दुई÷दुई पटक निर्वाचित सांसद पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने विगत ३२ दिनदेखि कास्की प्रहरी हिरासतमा छन्।
सहकारी संस्थाहरूको बचत रकम हिनामिना प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको हिरासत यात्रा कति लम्बिने हो अझै टुङ्गो छैन।
कारण सहकारी ठगीसम्बन्धी मुद्दामा समातिएका उनीमाथि सङ्गठित अपराधको आरोपमा पनि अनुसन्धान भइरहेको छ। सभापति पक्राउपछि रनथनिएका रास्वपाका केन्द्रीय नेता तथा कार्यकर्ताका साथै रास्वपा माननीयहरुले सडकमा देखाएको रमिताको चर्चा अझै उस्तै छ।
सभापतिसँगै सती जान तयार भएका उनीहरुले लामिछानेको रिहाइ माग गर्दै गरेको विरोध प्रर्दशनमा देखाएको हर्कतविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट नै दर्ता भएको छ। अदालतमा मुद्दा खेपिरहेका रास्वपाका माननीयहरु पछिल्लो समय आलोचनाको केन्द्रमा छन्।
भर्खरै राजनीति सिक्दै गरेका रास्वपा मात्र होइन लामो समय राजनीतिमा बिताएका र अनुभवी भनिएका नेताहरुलेसमेत माननीय पदको थप खिल्ली उडाइरहेका छन् । बदनामीको टिका लगाउनेहरुको सूचीमा सत्तारुढ कांग्रेस एमालेकै माननीयहरु पनि कम छैनन्।
सहकारी प्रकरणमा कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङदेखि सार्वजनिक लेखा समितिका सभापति रहेका नेकपा एमालेका सांसद क्रषिकेश पोखरेल पनि यो सूचीमा पर्छन्।
यस्तै बैठक कक्षमै दादागिरी शैलीमा प्रस्तुत हुने उर्जाराज्यमन्त्री कान्छाराम तामाङदेखि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ कोइराला माननीयहरुको हर्कतसमेत कम उदेक लाग्दो छैन।
माननीय पदको मर्यादा भुलेर उनीहरु हप्कीदप्की र ठेकेदारी शैलीमा प्रस्तुत हुन्छन् त कोही आफ्नो पदको गलत फाइदा उठाउँदै मोटो रकम असुल गरी नेपाली युवालाई अवैध ढंगले विदेश पठाउन भ्याउँछन्।
मानव तस्करीको आरोप लागेपछि पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ कोइरालामाथिको अनुसन्धान नसकिँदा मंगलबार थुना राख्ने म्याद थप भएसँगै ५ दिन हिरासत बसाइ लम्बिएको छ। एमालेका सांसद हाल निलम्बित टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा हिरासमै छन्।
यस्तै, एमालेकै सांसद देवीप्रसाद भट्टचन सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाए लगत्तै भ्रष्टाचारविरुद्धको जाहेरी खेपिरहेका छन्। कांग्रेस सांसद एवम् पर्यटनमन्त्री बद्री पाण्डे पनि भ्रष्टाचारको आरोप लागेपछि स्वयम् कानुनी उपचारको खोजीमा छन्।
आफ्नै दलका सांसद राजेन्द्र बजगाईंले कमिसन लिएर एक क्यासिनोलाई लाइसेन्स दिएको आरोप लगाएका थिए। यो विषय विवादित बनेसँगै बजगाईंले भने माफी मागिसकेका छन्। मन्त्री पाण्डेको विवाद टुङगिन नपाउँदै महामन्त्री गगन थापा आफ्नै अभिव्यक्तिका कारण आलोचित छन्।
विगतमा कसले कसलाई कसरी सम्बोधन गर्दथे, त्यो चासोको विषय नभए पनि प्रधानन्यायाधीशको सवालमा महामन्त्री थापाले दिएको दृष्टान्त प्रधानन्यायाधीश कांग्रेस निकट भएको र पार्टी निकट मान्छे मात्र उच्च ओहोदामा पुग्ने भाष्यलाई प्रमाणित गरिदिएको भन्दै गगनमाथि खनिनेको कमी छैन।
आफ्नो कमजोरी खासै नकेलाउने तर अरुको भेट्ने बित्तिकै जुरुक्क उठ्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत थापाको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ।
राजनीतिक दलका माननीय मात्र नभएर स्वतन्त्र सांसद दीपक मनाङेसमेत २० वर्षअगाडिको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जेलमा पुगेका छन्। त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवासमेत भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी माननीय हुन्। तर उनीमाथि अनुसन्धान हुनै सकेन भने पछिल्लो राजनीतिक समीकरणले उनलाई परराष्ट्रमन्त्री बनाएर पुरस्कृत ग¥यो।
योसँगै परराष्ट्रमा उनले रजगज गरिरहेकी छन्। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण पनि उच्च ओहोदामा बसेर बद्नाम हुनेको सूचीमा परेका पात्र हुन्। यस्तै खाणपत्नी एवं सांसद मञ्जु खाण पनि माननीयको नाममा दाग लाउने पात्रमा पर्छिन्। शरणार्थी प्रकरणमा नाम मुछिएकी उनी बद्नाम भएसँगै हाल गुमनाम छिन्।
सत्तारुढ दलका सांसद र मन्त्रीहरुको विवाद जति उछालिएको छ प्रतिपक्ष कित्तामा रहेका माओवादीलगायतका दलका सांसदहरु पनि चोखो छन् भन्ने होइन। बाहिरी आवरणले उनीहरुलाई माननीयको सम्मान मिलेको देखिए पनि विगतका अनेक काण्डहरु लुकेको छैन।