रवि लामिछानेसहित ४ जनालाई आज अदालत लगिँदै

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई आज अदालत लगिँदैछ ।

सहकारीको रकम अपलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उनीहरुलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिने भएको हो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि अदालत लगिँदैछ ।

उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।

कास्की जिल्ला अदालतल कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो।

लामिछानेलाई आज अदालतले म्याद थप गरिदिए केही दिनमा र रिहा गर्ने निर्णय गरे आजै पक्राउ गरी रुपन्देही पठाइने सम्भावना रहेको डीएसपी शर्माले बताए।