आजदेखि धरहरा चढ्न प्रतिव्यक्ति २ सय शुल्क लाग्ने

काठमाडौं । आजदेखि सुन्धारास्थित धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ । गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै २ सय रुपैयाँ तिरेर चढ्नु पर्ने भएको हो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ । सोही अनुसार सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ । यस्तै चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्ने भएको छ ।

यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निःशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो। भुकम्पपछि निर्माण गरिएको धरहरा असोज ३ गते संविधान दिवसको दिनबाट केहि समयका लागि निःशुल्क खुला गरिएको थियो।