पति-पत्नी एउटै पासोमा झुण्डिएको अवस्थामा सिनामंगलको होटलमा मृत फेला

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा आज मृत भेटिएका युवा र युवती पति-पत्नी भएको खुलेको छ।परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

सुनसरीको दुहवी-८ घर भएका ३४ वर्षीय रमेश माझी र उनकी पत्नी मोरङ घर भएकी २९ वर्षीया शर्मिलाकुमारी माझी होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। हिजो बेलुका करिब साढे ६ बजे होटलमा आएका उनीहरू रमेश माझीको नामबाट चौथो तल्लाको कोठा नम्बर १२० बुक गरी बसेका थिए।

आज बिहान साढे ७ बजे सोही कोठा पछाडि बार्दलीमा रहेको स्टिलको रेलिङमा दुवैजना एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। दुवैजना एउटै सलको पासो लगाई १२० नम्बरको कोठाको बाहिरपट्टि रहेको बरण्डाको बार्दलीमा झुण्डिएको अवस्थामा अनुसन्धान टोलीले फेला पारेको हो। उक्त कोठा भित्रबाट लक/चुकुल लगाइएको थियो।