एनपीएलको ट्रफी सार्वजनिक, मुख्य आकर्षण कालापत्थरको ढुंगा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेको छ । धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका खेलाडीहरुले एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । उक्त ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका थिए ।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए ।

ट्रफी अनावरण कार्यक्रममा आरोहीद्वय निमा र मिङ्मालाई खादा ओढाएर सम्मानसमेत गरिएको छ । एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ ।

एनपीएलमा ८ टोली फ्रेन्चाइज सहभागी हुँदैछन् । जसमा काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहभागी हुँदैछन्। लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन्। अन्य सहरबाट नामाकरण भएका टोली हुन्।