महानगरले इमेलमार्फत एमालेलाई पठायो जरिवानाको पत्र
काठमाडौं । नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको जरिवानाको पत्र काठमाडौं महानगरपालिकाले इमेलमार्फत पठाएको छ । पत्र एमालेले लिन नमानेपछि आज इमेलमार्फत पठाएको हो।
आइतबार महानगर प्रहरीसहितको टोली एमाले मुख्यालयमा पत्र लिएर गएको थियो । तर, कार्यालय सचिवले कार्यक्रमको आयोजना उपत्यकाका ३ जिल्ला कमिटीले गरेकाले केन्द्रीय कार्यालयसँग असम्बन्धित भएको भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए ।
काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पार्टी कार्यालयमा पत्र बुझाउन जाँदा नबुझेकाले इमेलमार्फत पत्र पठाइएको बताए।
भौतिक रूपमा नै गएर पत्र बुझाउन खोजेको थियो। पत्र बुझ्न नममानेपछि महानगरपालिकाको नगर प्रहरी बलको आधिकारिक इमेलबाट नेकपा (एमाले) पार्टीको आधिकारिक इमेलमा पठाइएको छ’ उनले भने ।