रास्वपा नेताहरूविरूद्धको रिट न्यायाधीशद्धय शर्मा र निरौलाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गराएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो।

सहकारी ठगी प्रकरणमासभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेपछि रास्वपाले पोखरा सहित काठमाडौं लगायत देशभर आन्दोलन गरेको थियो।

उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ।

निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।

निवेदनमा न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायत कार्यगरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ।