बीआरआईबारे साझा धारणा बनाउने प्रयास
काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे साझा धारणा बनाउन छलफल भएको छ ।
बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बीआरआईबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयास भएको कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले जानकारी दिए । राष्ट्रिय सहमतिको आकार दिनुपर्छ भनेर कांग्रेस र एमाले लागिरहेको उनको भनाइ छ ।
कांग्रेस बीआरआईमा सतप्रतिशत अनुदान लिने भएमात्रै कार्यान्वयनको चरणमा जानुपर्ने पक्षमा छ । यता एमाले चीनसँग ऋण लिनुपर्ने अडानमा रहेका कारण बीआरआईबारे हालसम्म दुई दलबीच सहमति हुन सकेको छैन ।
बीआरआईको ‘कार्यक्रम कार्यान्वयन योजना’को प्रस्तावित मस्यौदालाई संशोधन गरेर ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ प्रस्ताव गर्ने गृहकार्य भएको छ ।
उक्त विषयलाई दस्ताबेजीकरण गर्न र मस्यौदा बनाउन तीन नेताले जिम्मेवारी पाएका छन् । एमालेबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा र कांग्रेसबाट महामन्त्री गगन थापालाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ।