एसीसी अन्डर-१९ एसिया कपमा आज नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । एसीसी पुरुष अन्डर–१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दैछ । खेल यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने छ । दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् ।

प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो।

सो सिरिज ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ।

टेस्ट राष्ट्र श्रीलंकाको अन्डर–१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन । बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ।

हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर–१९ टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो।