देशका ४१ स्थानमा मतदान जारी

सांकेतिक तस्वीर

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज देशभरका ४१ रिक्त स्थानमा मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले बताए ।

मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन्। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए।

आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाको १६ नम्बर र कीर्तिपुरका दुई बाहेकका वडाको मतपरिणाम सोही दिन (राति १२ बजे)सम्म निकाल्ने गरी तयारी गर्न निर्देशन दिइएको थपलियाले बताए।

उनका अनुसार मतदान भइरहेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको छ।

प्रमुख वा उप्रमुख र वडाध्यक्षको चुनाव भएका ठाउँमा पहिले वडाको गणना हुनेछ। कीर्तिपुरको नगरपालिका मेयर र वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ। त्यहाँ पहिले वडाको मतगणना हुनेछ।