चितवनमा आज पनि रवि लामिछानेको बयान
चितवन । सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।
जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि बयान सुरू भएको थियो। मंगलबार बयान नसकिएपछि बुधबार पनि लामिछानेसँग बयान लिइन लागिएको हो। लामिछानेलाई मंगलबार बिहान काठमाडौंबाट चितवन ल्याइएको हो।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौंमा पनि बयान लिइएको थियो।
सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो। त्यही अनुसन्धानका लागि उनलाई चितवन ल्याइएको हो । गत कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो।
पोखराको सुर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ । सोही प्रकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ।